Skip
आज : २०८३ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंमा फोहोर संकलन प्रभावित, महानगरले भन्यो : घरभित्रै राख्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ९ गते


Advertisement

९ असोज, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित भएको छ।

काठमाडौं महानगरपालिकाले ल्यान्डफिल साइटमा पहिरो र लेदो खस्ने क्रम जारी रहेकाले फोहोर संकलन तथा ढुवानीमा समस्या आएको जनाएको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गर्दै केही समयका लागि नियमित फोहोर संकलन प्रभावित हुने जानकारी दिएको हो।

निरन्तरको वर्षाका कारण फोहोर विसर्जन गरिने ल्यान्डफिल साइटमा पहिरो गएको तथा माथिल्लो क्षेत्रबाट लेदोसहितको माटो खसिरहेको महानगरले जनाएको छ।

यसले फोहोर बोकेका सवारीसाधनलाई ल्यान्डफिल साइटसम्म पुग्न तथा फोहोर विसर्जन गर्न कठिनाइ भएको छ।

फोहोर संकलन नियमित नहुन्जेल महानगरले नगरवासीलाई घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल वा खोलानालामा नफाल्न आग्रह गरेको छ।

सम्भव भएसम्म फोहोर आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा राख्न महानगरले अनुरोध गरेको छ। महानगरले सड्ने र नसड्ने फोहोर छुट्टाछुट्टै राख्न पनि आग्रह गरेको छ।

जथाभावी फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानी निकास हुने ढल तथा नाला थुनिएर बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन महानगरले आग्रह गरेको हो।

 

 


प्रतिकृया दिनुहोस्