Skip
आज : २०८३ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कोशी ब्यारेजमा खतराको संकेत, २४ वटा ढोका खोलिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ९ गते


Advertisement

९ असाेज, इनरुवा । पूर्वी पहाडी तथा तराई क्षेत्रमा भइरहेको लगातार वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढेको छ।

कोशी ब्यारेजमा आज बिहान पानीको बहाव १ लाख ९० हजार क्युसेक नाघेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीका अनुसार बिहान ९ः१५ बजे गरिएको मापनमा ब्यारेज हुँदै १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको थियो।

पानीको बहाव बढेपछि कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मूल ढोका र नहरतर्फ ४ वटा ढोका रहेका छन्।
जलस्तर बढेसँगै खतराको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। नदीको बहाव अझै बढ्न सक्ने भएकाले जलस्तरको अवस्था निरन्तर निगरानी भइरहेको बताइएको छ।
कोशी नदीमा पानीको बहाव बढिरहेकाले कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ। यसले कोशी नदीको जलस्तर थप बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।


प्रतिकृया दिनुहोस्