४ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा आज थप १३ वटा शव फेला परेका छन्।
आयोजनाको अडिट–३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले खोजी गर्दा ती शव भेटिएका हुन्।
नेपाली सेना र आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त टोली उद्धार तथा खोजीमा खटिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कंक्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएको तथा हिलोमा ढल्किएको अवस्थामा शव फेला परेका हुन्।
थप १३ शव भेटिएसँगै अडिट–३ क्षेत्रबाट निकालिएका शवको संख्या ३७ पुगेको छ। फेला परेका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बास्वास्थ्य परिसरमा राखिएको छ।
मृतकको सनाखतका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटले परिवार तथा आफन्तलाई सहयोग गर्न अनुरोध गरेको छ।
उद्धार टोलीले तालिम प्राप्त सर्च डगसहित खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। साथै, कम्पनीको दुईतर्फी टनेलमा मिनी एक्साभेटर प्रयोग गरेर समेत खोजी तथा उद्धार भइरहेको जनाइएको छ।
गत भदौ १० गते आएको भोटेकोसी बाढीपछि आयोजनामा कार्यरत अझै ४५८ जना सम्पर्कविहीन रहेको बताइएको छ।
































