Skip

Hamro Sanchar

सुमो दुर्घटना हुँदा धनकुटामा १ जनाको मृत्यु, १० जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ४ गते


Advertisement

४ असोन, काठमाडोँ । धनकुटाको छथर जोरपाटी गाउँपालिका ३, बन्चरेमा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा परि अन्य १० जना घाइते भएका छन्।

बिहान करिब ८:१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको छ।

सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री घाइते भएका छन्। धनकुटा नगरपालिका ४ की ४० वर्षीया धनमाया राई, ३३ वर्षीया पुनम लिम्बू, उनकी २ वर्षीया छोरी आरध्या लिम्बू, सोही स्थानका २६ वर्षीय आइन्द्र लिम्बू घाइते भएका प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, धनकुटा नगरपालिका ३ का २७ वर्षीय भवानी लिम्बू र ४७ वर्षीय हेमबहादुर लिम्बू, धनकुटा नगरपालिका–४ का ३० वर्षीय अबिन लिम्बू तथा छथर जोरपाटी गाउँपालिका–३ का २१ वर्षीय आशिष लिम्बू घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १८ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


प्रतिकृया दिनुहोस्