३ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधान राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र सक्रिय नभए कागजको खोस्टो बन्न सक्ने बताए।
उनले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक संरचनाको उपयुक्त आकार, प्रशासनमा राजनीतिक तटस्थता तथा सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई अघि बढाएको उनले बताए।
‘सुशासन नारा होइन, काम हो’ भन्दै शाहले सरकारले काम गरिरहेको दाबी गरेका छन् ।
प्रधानमन्त्रीले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, साइबर सुरक्षा, नवप्रवर्तन र स्टार्टअपलाई प्राथमिकतामा राख्दै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने बताए।
युवाले सडकमा उठाएको सुशासनको माग प्रविधिमार्फत समेत सम्बोधन गर्ने उनको भनाइ थियो।
रसुवा–भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्राथमिकता दिने बताए।
विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए।
‘शहीदहरूको रगतले लेखेको संविधान, कामले पूरा गर्ने भन्दै प्रधानमन्त्री बालेनले संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।































