Skip

Hamro Sanchar

१५२ बेसहारा बालबालिकालाई २ हप्ताभित्र आफ्नै नगरमा ल्याउँदै कागेश्वरी मनोहरा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २ गते


Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका तथा संरक्षणको आवश्यकता भएका १५२ जना बालबालिकालाई कागेश्वरी मनोहरा नगरपालिकाले २ हप्ताभित्र आफ्नै नगरमा स्थानान्तरण गर्ने भएको छ। नगरपालिकाले ती बालबालिकाको संरक्षण, पालनपोषण तथा शिक्षाको जिम्मेवारी लिँदै दीर्घकालीन अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको हो।

नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले बाढी प्रभावित बालबालिकालाई नगरभित्र स्थानान्तरण गरी उनीहरूको सुरक्षित आवास, शिक्षा, स्वास्थ्योपचार, पालनपोषण तथा पुनर्स्थापनाको व्यवस्था गर्ने निर्णय गरेको हो।

राष्ट्रिय बाल अधिकार परिषद् र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा प्रभावित बालबालिकाको अवस्था पहिचान, संरक्षण तथा पुनर्स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ। समाज कल्याण परिषद् र बागमती प्रदेश सरकारबाट समेत आवश्यक अनुमति प्राप्त भएपछि स्थानान्तरणको प्रक्रिया अगाडि बढाइएको हो।

नगरपालिकाले स्थानान्तरण गरिने बालबालिकालाई नगरभित्र सञ्चालित बालगृह तथा बालआश्रममा राखेर कक्षा १२ सम्मको शिक्षा, पालनपोषण तथा संरक्षणको व्यवस्था गर्नेछ। साथै, उनीहरूको आवश्यकताअनुसार उच्च शिक्षासम्म सहयोग गर्ने योजना पनि अघि सारेको छ।

२५ लाखको कोष स्थापना

बाढी प्रभावित बालबालिकाको उद्धार, संरक्षण तथा पुनर्स्थापनाका लागि नगरपालिकाले २५ लाख रुपैयाँको कोष स्थापना गरेको छ। उक्त कोषमा नगरपालिकाको रकमसँगै नगरभित्रका विभिन्न संघसंस्थाबाट समेत सहयोग जुटाइनेछ।

नगरपालिकाले राष्ट्रिय बाल अधिकार परिषद्लाई उपलब्ध गराएको विवरणअनुसार थप २२९ जना बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सहयोग उपलब्ध गराइनेछ भने २५० जना बालबालिकालाई नियमित मनोसामाजिक सहयोग प्रदान गरिनेछ।

नगरप्रमुख कार्कीले प्रभावित बालबालिकालाई अस्थायी रूपमा मात्र व्यवस्थापन नगरी कानुनी प्रक्रिया पूरा गरेर दीर्घकालीन संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“हामी राज्यकै एउटा अंग भएकाले कानुनी प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ,” उनले भने, “सबै संघसंस्थाले आफ्नो क्षमताअनुसार कोषमा योगदान गरेर सामूहिक प्रतिबद्धता जनाउन आवश्यक छ।”

बालगृह तथा सामाजिक संस्थाको सहयोग

नगरपालिकाको अभियानमा विभिन्न बालगृह तथा सामाजिक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सारा चिल्ड्रेन होम, थलीका अध्यक्ष डा. तेज रोकाले ५० जना बालबालिकालाई प्रत्यक्ष संरक्षण तथा १५० जनालाई शैक्षिक सामग्री र शिक्षामा सहयोग गर्ने बताए।

त्यस्तै, महिला आदर्श सेवा संस्थाकी तारा उप्रेतीले बालबालिकाको हेरचाहसँगै १८ वर्षपछि पनि ‘लर्न टु फ्लाई’ कार्यक्रममार्फत उच्च शिक्षा तथा आत्मनिर्भरताका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाइन्।

ज्योति घर नेपालका कार्यकारी निर्देशक समीर अधिकारीले २० जना बालबालिकालाई आवास, शिक्षा तथा सीपमूलक तालिमसहित भविष्य निर्माणमा सहयोग गर्ने घोषणा गरे। सृजनशील बाल संसार परिवारकी अध्यक्ष उमादेवी कार्कीले पनि नगरपालिकाको अभियानमा पूर्ण सहयोग रहने बताइन्।

बाढी प्रभावित क्षेत्रमा १७ हजार बालबालिकालाई संरक्षणको आवश्यकता

राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको द्रुत लेखाजोखा प्रतिवेदनअनुसार भोटेकोशी बाढीमा आमाबुबा दुवै बेपत्ता भएपछि १०२ जना बालबालिका अभिभावकविहीन बनेका छन्। तीमध्ये ४९ जना बालिका र ५३ जना बालक छन्।

रसुवा, नुवाकोट र धादिङमा मात्रै कम्तीमा १७ हजार बालबालिकालाई संरक्षणको आवश्यकता रहेको अध्ययनले देखाएको छ।

प्रतिवेदनअनुसार बाबुआमासँग बिछोडिएका वा छुट्टिएर बसोबास गरिरहेका बालबालिकाको संख्या ४३९ रहेको छ। तीमध्ये २२२ जना बालिका र २१७ जना बालक छन्। प्रभावितमध्ये ६९२ जना बालबालिका भने आफ्नै बाबुआमा वा अभिभावकसँग रहेका छन्। बाढी प्रभावितमध्ये २१ जना अपांगता भएका बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ।

यसअघि कागेश्वरी मनोहरा नगरपालिकाले बाढी प्रभावित नागरिकको उद्धार तथा मानवीय सेवाका लागि आफ्नो एम्बुलेन्स र शववाहन तत्काल प्रभावित क्षेत्रमा पठाएको थियो। साथै, राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ७५ लाख ५५ हजार ५७५ रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा सहयोग गर्ने निर्णयसमेत गरिसकेको छ।


प्रतिकृया दिनुहोस्