१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आसन्न १५औँ महाधिवेशनको कार्यतालिका केही समय सारेर शीर्ष नेताबीच तत्काल संवाद थाल्न आग्रह गरेका छन्।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापालाई सम्बोधन गर्दै खड्काले दुई अलग-अलग महाधिवेशनको अवस्था सिर्जना भए कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका हुन्।
खड्काले सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको उल्लेख गरेका छन्। त्यसका लागि थापाले गम्भीर आत्मसमीक्षा गर्दै निर्णायक पहल लिनुपर्ने उनको आग्रह छ।
उनले असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गर्न थापासँग आग्रह गरेका छन्।
त्यस्तै, थापाले पार्टीमा पछिल्लो समय गरेका निर्णयको पृष्ठभूमिमा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा तथा अन्य अग्रज नेतासँग आफ्नै पहलमा तत्काल वार्ता र संवाद अघि बढाउनुपर्ने खड्काको भनाइ छ।
ल्अभिि द्द
लष्mद
‘पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ,’ खड्काले भनेका छन्।
खड्काले दुईवटा अलग(अलग महाधिवेशनको अवस्था रोक्न नसकिए कांग्रेस विभाजनको जोखिम बढ्ने बताएका छन्। कांग्रेस विभाजनपछि अन्य प्रमुख राजनीतिक दलसमेत विभाजनतर्फ जाने र त्यसले मुलुकको राजनीतिमा गम्भीर असर पार्न सक्ने उनको दाबी छ।
उनले पछिल्ला घटनाक्रम र देखिएका राजनीतिक गतिविधिले देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको जोखिम बढ्न सक्ने भन्दै राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानप्रति समेत चिन्ता व्यक्त गरेका छन्।
खड्काले थापालाई कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण एकताको पहल गर्न समस्या नपर्ने भन्दै साहसिक निर्णय लिन आग्रह गरेका छन्।
‘तपाईंले बेहोरिरहेका सल्लाह, सुझाव र विगतका घटनाक्रमलाई गहिरो शिक्षाका रूपमा निर्मम समीक्षा गर्दै तत्काल निर्णायक र साहसिक कदम चाल्नुस् अनि सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति बन्नुस्,’ उनले अपिल गरेका छन्।
पार्टी एकताका लागि आफू कुनै महत्वाकांक्षाबाट मुक्त भएर आवश्यक त्याग गर्न तयार रहेको पनि खड्काले बताएका छन्। उनले कांग्रेसलाई विभाजनबाट जोगाउन संवाद र समझदारीको बाटो रोज्नुपर्नेमा जोड दिएका छन् ।
































