१ असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन रोक्दै सहमति, सहकार्य र एकताको बाटोमा अघि बढ्न आग्रह गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै कोइरालाले देशको वर्तमान अवस्था र कांग्रेसको आन्तरिक जीवनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले कांग्रेसको गौरवशाली इतिहास, त्याग र बलिदानलाई स्मरण गर्दै अहिले पार्टी विभाजित र दिशाहीन अवस्थामा पुगेको बताएका छन्।
आसन्न दुई महाधिवेशनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पार्न सक्ने भन्दै उनले त्यसलाई रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्नुपर्नेमा जोड दिएका छन्।
रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको विपत्तिको समयमा कांग्रेसले राजनीतिक विवादभन्दा पीडित नागरिकको दुःख र पीडालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
प्राकृतिक विपत्तिका कारण अभाव, बञ्चना र आफन्त गुमाएका नागरिकप्रति संवेदनशील बन्न उनले कांग्रेसजनलाई आग्रह गरेका छन्।
चाडपर्वको मुखैमा बाढीले घरबार, परिवार तथा आफन्त गुमाएका नागरिकको पिडा बुझन नसकेको स्विकार गर्दै कोइरालाले प्रश्न गरे, “कांग्रेस आफ्नो दायित्वबाट बिमुख भैरहे भावि पुस्तालाई कसरी जोड्न सक्छौ”
कोइरालाले आफू कसैलाई सही वा गलत साबित गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेसभित्र एकता आवश्यक रहेको बताएका छन्।
‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस भनेर उत्सव मनाउन सकिँदैन’ भन्दै उनले पार्टीको संस्कार र संस्कृति जोगाउनुपर्ने बताएका छन्।
उनले पार्टीलाई एकताबद्ध राख्ने अभियानमा गाउँ–टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेस कार्यकर्तालाई दृढताका साथ जुट्न आह्वान गरेका छन्।
‘हामी उठ्छौं, जुट्छौं र जित्छौं’ भन्ने विश्वाससहित आफू कांग्रेस एकताको अभियानमा निरन्तर लागिरहने कोइरालाले बताएका छन्।
उनले कांग्रेसको पटकथा अरुले नै लेखिरहेको सकेत उल्लेख गरेका छन् । उनले लेखेका छन् ” दुखका साथ भन्नुपर्दा कांग्रेसको पटकथा कहाँबाट लेखिएको छ मलाई थाहा छैन” ।



































