Skip

Hamro Sanchar

खाजा खान ल्याएको पैसा सङ्कलन गरी भोटेकोशी बाढीपीडितलाई विद्यार्थीको करीब २५ हजार सहयोग

विजय स्मारक माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीले खाजाको रकम कटाएर जुटाए सहयोग

सुदिप बर्देवा प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

काठमाडौं, भदौ ३१- काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजाको रकम कटाएर भोटेकोशी बाढीपीडितका लागि रु. २४,८४०।- (अक्षरुपि चौबीस हजार आठ सय चालिस) सहयोग गरेका छन्। विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले खाजा खान ल्याउने रकमबाट केही हिस्सा बचत तथा सङ्कलन गरी बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा चौबीस हजार आठ सय चालिस जम्मा गरेका हुन्।

सानो उमेरमै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नै इच्छाले खाजाको पैसा कटाएर सहयोग सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक माधव प्रसाद ओलीले हाम्रोसंचारलाई जानकारी दिनु भयो।

विद्यार्थीहरूले आफूले दैनिक खाजाका लागि ल्याएको रकममध्ये केही रकम बाढीपीडितको राहतका लागि छुट्याउँदै करीब रु. २५ हजार सङ्कलन गरेका हुन्। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका विद्यार्थीहरूको यो सहयोग रकम आर्थिक हिसाबले ठूलो नभए पनि विपद्को समयमा बालबालिकाले देखाएको मानवीय संवेदना, सामाजिक जिम्मेवारी र सहयोगी भावनाको उदाहरण बनेको छ। आफूले खाजा खान ल्याएको पैसा बचाएर विपदमा परेका नागरिकका लागि सहयोग गर्नुले विद्यार्थीमा सानैदेखि सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको विश्वास छ।

विद्यालयले विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने सन्देशसमेत विद्यार्थीहरूको अभियानले दिएको जनाएको छ। विद्यार्थीहरूको सानो त्याग, बाढीपीडितका लागि ठूलो सहारा बन्ने विश्वासका साथ विजय स्मारक माध्यमिक विद्यालय परिवारले भोटेकोशी बाढीपीडितप्रति ऐक्यबद्धता जनाएको छ।

 


प्रतिकृया दिनुहोस्