काठमाडौं, भदौ २५- गत भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढी–पहिरोमा परी अभिभावक बेपत्ता भएका ओखलढुंगाको लिखु गाउँपालिका–७, गाम्नाङटारका दुई परिवारका सन्ततीले अब निःशुल्क उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन्।
नेपाली कांग्रेसका युवा नेता तथा २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ओखलढुंगाबाट उम्मेदवार बनेका कुमार लुइटेलको पहल र समन्वयमा बाढीबाट बेपत्ता भएका मिलन बिडारीका छोरा समीर बिडारी र प्रेम पौडेलकी छोरी आकृति पौडेललाई स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको हो।
लुइटेलको पहलमा जि.पी. कोइराला मेमोरियल कलेजले दुवै विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएको हो। यो सँगै, समीर र आकृतिले स्नातक र स्नातकोत्तर तहसम्म कुनैपनि शुल्क नतिरी अध्याय गर्न पाउने छन् ।
त्रिभुवन विश्वविद्यालयले लिने रजिस्ट्रेसन शुल्क, विद्यालयले लिने आन्तरिक परीक्षाको शुल्क समेत उनीहरुले तिर्नुपर्ने छैन, यसको समेत लुइटेलले जिम्मेवारी लिएका छन् ।
केही दिनअघि आफ्नो जिल्लाका बाढी-पहिरो प्रभावित परिवारका सदस्यहरूसँग भेटघाट गर्ने क्रममा लुइटेलले विपद्का कारण अभिभावक गुमाएका वा बेपत्ता भएका परिवारका सन्ततीलाई उच्च शिक्षा अध्ययनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सोही प्रतिबद्धतालाई कार्यान्वयन गर्दै लुइटेलले जि.पी. कोइराला मेमोरियल कलेज व्यवस्थापनसँग समन्वय गरी समीर र आकृतिका लागि छात्रवृत्तिको व्यवस्था गर्न पहल गरेका हुन्।
यता, जि.पी. कोइराला मेमोरियल कलेजका क्याम्पस प्रमुख शिव प्रसाद अधिकारीले बाढीबाट बेपत्ता भएका मिलन बिडारीका छोरा समीर बिडारी र प्रेम पौडेलकी छोरी आकृति पौडेललाई स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेर आफ्नो क्याम्पसले सामाजिक उत्तरदायीत्व पुरा गरेको हाम्रोसंचारलाई जानकारी दिए । यस्तै, जी.पी कोइराला मेमोरियल कलेजका उपप्राध्यापक एवं समाजसेवी राजकुमार ढुंगानाले यस्तो विपत्तिमा परेका विद्यार्थीहरुको उच्च शिक्षाको ढोका खोल्न पाउदा क्याम्पसको प्रतिष्ठा बृद्दि भएको जानकारी दिए ।
प्राकृतिक विपद्का कारण अभिभावकको साथ गुमाएका परिवारका सन्ततीको शिक्षामा निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले गरिएको यो पहलले पीडित परिवारलाई राहतसँगै भविष्य निर्माणको आशा पनि दिएको छ।
लुइटेलले विपत्तिबाट प्रभावित परिवारलाई तत्कालीन राहतसँगै दीर्घकालीन रूपमा शिक्षा, रोजगारी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिँदै आएका छन्।
उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त भएपछि समीर बिडारी र आकृति पौडेलले आर्थिक अभावका कारण अध्ययन रोक्नुपर्ने अवस्थाबाट राहत पाउने भएका छन्। उनीहरूले अब स्नातक र स्नातकोत्तर तहसम्मको आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नेछन्।

































