२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनले उठाएका विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफूहरू एक इन्च पनि विचलित नहुने बताएका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आज वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका हुन् ।
उनले आन्दोलनलाई परम्परागत राजनीतिक शैलीप्रतिको युवापुस्ताको स्पष्ट ‘अस्वीकृति पत्र’को संज्ञा दिएका छन् । उनका अनुसार डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको र आफ्नै देशभित्र भविष्य खोजिरहेको युवापुस्ताले कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनमार्फत दिएको थियो।
लामिछानेले जेन–जी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई स्वस्फूर्त रूपमा भएको दाबी गर्दै त्यसलाई कुनै पनि दल वा नेताले आफ्नो राजनीतिक लाभको औजार बनाउन नहुने बताएका छन् । ‘कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन,’ उनले वक्तव्यमा भनेका छन् ।


































