Skip

Hamro Sanchar

सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनको : कार्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २३ गते


Advertisement

२३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताएकी छन्।

मंगलबार जेनजी आन्दोलन भएको एक वर्ष पुगेकोमा उनले सामाजिक सञ्जालमा लेख्दै आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सन्देश दिएको बताइन्।

‘जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ( सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन। राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ। त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु,’ उनले भनिन्।

उनले भदौ २३ गतेको जस्तो दिन फेरि कहिल्यै नदोहोरियोस् भनेर बताएकी छन्। उनले सुशासन र परिवर्तनका लागि सबै आआफ्नो ठाउँबाट चनाखो भएर कर्तव्य निर्वाह गर्न पनि आग्रह गरिन्।

‘अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन। सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं,’ उनले भनिन् ।

 

 


प्रतिकृया दिनुहोस्