Skip

Hamro Sanchar

त्रि.वि सुधारको नाममा सामुदायिक क्याम्पसमाथि प्रहार, कठोर आन्दोलन गर्न तयार छौ : अध्यक्ष गुप्ता

सुदिप बर्देवा प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

काठमाडौं भदौ १०- नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले त्रिभुवन विश्वविद्यालय (टीयू) सुधारको नाममा विद्यार्थीलाई अन्य विश्वविद्यालयतर्फ पठाउने र सामुदायिक क्याम्पसहरूलाई क्रमशः कमजोर तथा तहसनहस बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले पछिल्लो समय टीयूको नीति, योजना र नेतृत्वको धारणाले सामुदायिक क्याम्पसको भविष्यबारे गम्भीर बहस सिर्जना गरेको बताएका छन्।

अध्यक्ष गुप्ताले अब बहसको मुख्य विषय “सामुदायिक क्याम्पसलाई टीयू चाहिएको हो कि टीयूलाई सामुदायिक क्याम्पस?” भन्ने हुनुपर्ने बताएका छन्। उनका अनुसार त्रिभुवन विश्वविद्यालयको विस्तार, पहुँच र शैक्षिक इतिहासमा सामुदायिक क्याम्पसहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

उनले सामुदायिक क्याम्पसलाई कमजोर बनाउने वा विद्यार्थीलाई अन्य विश्वविद्यालयतर्फ मोड्ने नीति अघि बढाइए त्यसविरुद्ध कठोर आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।

“सामुदायिक क्याम्पसहरू जनताको लगानी, योगदान र विश्वासबाट स्थापित शैक्षिक धरोहर हुन्,” गुप्ताले सामाजिक सन्जालमा स्ट्याटस पोस्ट गर्दै भनेका छन्, “यिनलाई तासको घरजस्तो सम्झेर सामान्य रूपमा कमजोर बनाउन खोजिए त्यसको गम्भीर प्रतिरोध हुनेछ।”

उनले सामुदायिक क्याम्पसको अस्तित्व नै संकटमा पार्ने कुनै पनि नीति स्वीकार्य नहुने स्पष्ट पार्दै टीयू सुधारको बहस क्याम्पसहरू बन्द गर्ने वा कमजोर बनाउने दिशामा नभई तिनको संरक्षण, सुदृढीकरण र गुणस्तरीय विकास तर्फ केन्द्रित हुनुपर्ने बताए।

अध्यक्ष गुप्ताले यस विषयमा घनीभूत छलफलका लागि तयारी बैठक आवश्यक रहेको उल्लेख गर्दै सामुदायिक क्याम्पसको हित र अस्तित्व रक्षाका लागि सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिए।

उनले शक्ति र पदको आडमा जनताले स्थापना गरेका शैक्षिक संस्थामाथि निर्णय थोपर्ने प्रयास नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराएका छन्।

टीयू सुधारको बहस चर्किरहेका बेला अध्यक्ष गुप्ताको अभिव्यक्तिले अब एउटा गम्भीर प्रश्नलाई केन्द्रमा ल्याएको छ- “सामुदायिक क्याम्पसलाई कमजोर बनाएर त्रिभुवन विश्वविद्यालय साँच्चिकै बलियो र प्रभावकारी बन्न सक्छ त?”


प्रतिकृया दिनुहोस्