भदौ ७, बाग्लुङ । कक्षाकोठा अभाव झेल्दै आएको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण गरिएको छ ।
गोर्खा वेलफेयर ट्रस्ट नेपालले रु दुई करोड ६८ लाखको लागतमा आठ महिनामै सुविधा सम्पन्न भवन निर्माण गरेपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार भएको छ ।
नयाँ भवन निर्माण भएपछि लामो समयदेखि कक्षाकोठा अभावका कारण समस्या झेल्दै आएको विद्यालयमा पठनपाठन सहज भएको प्रधानाध्यापक थमप्रकाश जैसीले बताए । दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा हाल ४३१ विद्यार्थी अध्ययनरत छन् ।
कक्षाकोठा अभाव हुँदा यसअघि एउटै कोठामा ६० जनासम्म विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने अवस्था थियो । विद्यार्थी सङ्ख्या धेरै भएका कारण कक्षा पाँच, सात र आठलाई दुई–दुई समूहमा विभाजन गरी पठनपाठन सञ्चालन गर्नुपरेको थियो । पर्याप्त कक्षाकोठा नहुँदा ट्रसको छाप्रो र पक्की भवनको भ¥याङमुनिसमेत कक्षा सञ्चालन गर्ने गरिएको प्रधानाध्यापक जैसीले बताए ।
“बालविकासदेखि कक्षा १० सम्मका लागि ११ वटा कोठा आवश्यक थियो । तीनवटा कक्षामा विद्यार्थी धेरै भएपछि दुई समूहमा विभाजन गरेर ट्रसको छाप्रो र पक्की भवनको भ¥याङमुनिसमेत पढाउने गरेका थियौँ,” उनले भने, “अहिले १२ नयाँ कक्षाकोठा र शौचालय थपिएपछि प्रयोगशाला, पुस्तकालयलगायतका लागि पनि पर्याप्त स्थान छ ।”
नयाँ भवन निर्माणमा लगानी भएको उक्त रकममा दश प्रतिशत स्थानीयको श्रमदान पनि समावेश छ





























