३० साउन, काठमाडौं । इन्डोनेसियाको पूर्वी तट नजिकै शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पपछि राष्ट्रिय जिओफिजिक्स एजेन्सीले स्थानीय रूपमा सुनामीको चेतावनी जारी गरेको सीएनएनले जनाएको छ । तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शक्तिशाली भूकम्पलगत्तै ५.९, ५.६ र ६.१ म्याग्निच्युडका तीनवटा पराकम्पहरू गएका थिए।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले फ्लोरेस टापु नजिकै गएको यो कम गहिराइको पानीमुनिको भूकम्पपछि प्रभावित तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थान तथा अग्ला भूभागतर्फ जान आह्वान गरेको छ।
एपीका अनुसार राष्ट्रिय एजेन्सीले बासिन्दाहरूलाई समुद्र तट र नदी किनारबाट टाढा रहन कडा निर्देशन दिएको छ।
भूकम्पको धक्का महसुस हुनेबित्तिकै मानिसहरू आत्तिएर घरबाट बाहिर भागेका थिए। प्रारम्भिक विवरण अनुसार हालसम्म मानवीय क्षतिको कुनै खबर प्राप्त भएको छैन । करिब ५० हजार मानिसहरू अति बलियो वा गम्भीर कम्पनको दायरामा परेका छन् ।
यस्तो कम्पनले राम्ररी बनाइएका संरचनाहरूमा सामान्यदेखि मध्यम क्षति र कमजोर संरचनाहरूमा ठूलो क्षति पुर्याउन सक्ने क्षमता राख्छ ।
इन्डोनेसिया इतिहासदेखि नै बारम्बार विनाशकारी भूकम्पहरूको चपेटामा पर्दै आएको देश हो। प्रशान्त महासागरको वरिपरि फैलिएको रिंग अफ फायरुमा अवस्थित यो देश भूकम्प र ज्वालामुखीय गतिविधिका दृष्टिले विश्वको सबैभन्दा संवेदनशी क्षेत्रहरूमध्ये एक हो।
सन् २००४ मा इन्डोनेसियाको सुमात्रा टापुमा गएको ९।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको हिन्द महासागरको विनाशकारी सुनामीका कारण इन्डोनेसियालगायत यस क्षेत्रका समुद्र तटहरूमा २ लाख २० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो, जसमध्ये आधाभन्दा बढी इन्डोनेसियाका नागरिक थिए।
त्यसयता पनि सन् २०१८ को अगस्टमा लोम्बोक टापुमा गएको ६.९ म्याग्निच्युडको भूकम्प, सोही वर्षको सेप्टेम्बरमा सुलावेसी टापुमा गएको ७.५ म्याग्निच्युडको भूकम्प र सुनामी, तथा सन् २०२२ को नोभेम्बरमा पश्चिम जाभाको सियांजुर क्षेत्रमा गएको ६.५ म्याग्निच्युडको भूकम्पका कारण सयौं मानिसहरूले ज्यान गुमाइसकेका छन्।






























