Skip

Hamro Sanchar

एमाले पुनर्गठनको माग चर्कियो, केन्द्रीय कमिटी बैठक अविलम्ब बोलाउन आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २७ गते


Advertisement

२७ साउन, काठमाडौं । नेकपा एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियानले केन्द्रीय कमिटी बैठक अविलम्ब बोलाउन माग गरेको छ।

आज अभियानले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलाई विधानसम्मत बैठक बोलाउन माग गर्दै मागपत्र दर्ता गराएको हो।

मागपत्रमा अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको छ। मागपत्र दर्ता गर्न अभियानका गजेन्द्र थपलिया, रोशन बस्नेत, रमेश पौडेल, शर्मिला कार्की, डा. सुरेन्द्र मानन्धर, बुद्दी परियार, नवीना लामालगायत पार्टी कार्यालय च्यासल पुगेका थिए।

मापत्रमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बसी प्रतिवेदन सचिवालय र केन्द्रीय कमिटीमा छलफल अध्ययन तथा सार्वजनिक गर्न, केन्द्रीय सचिवालयको बैठक तत्काल बोलाउन, विधानसम्मत रूपमा केन्द्रीय कमिटीको बैठक अविलम्ब आयोजना गर्न माग गरिएको छ।

त्यस्तै निर्वाचनमा भएको पराजयको वस्तुनिष्ठ र निर्मम समीक्षा गर्न, पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्संरचनाको स्पष्ट खाका निर्माण गर्न, नेता कार्यकर्ताको मनोबल उठाउने र जनतासँगको सम्बन्ध पुनःस्थापित गर्न, कमिटी प्रणाली, सामूहिक निर्णय र आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाउन र पार्टीलाई नयाँ ऊर्जा, नयाँ कार्यशैली र नयाँ विश्वाससहित पुनर्गठित गर्ने दिशामा तत्काल ठोस पहल गर्न माग गरिएको छ ।


प्रतिकृया दिनुहोस्