२५ साउन, काठमाडौं । पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग विशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको र उनको समेत संलग्नता रहेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो। उक्त मुद्दाको थुनछेक आदेशका लागि सोमबार उनी विशेष अदालतमा उपस्थित भएका थिए।
न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो।
अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ।
विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोप छ। यसका लागि मन्त्रीसँगै सचिवसहितका कर्मचारी र चिनियाँ ठेकेदार कम्पनीको आपसी मिलेमतो देखिएको अख्तियारको दाबी छ।
खरिद सम्झौताअनुसार ठेकेदार कम्पनीले कर, महसुल तथा अन्य शुल्कहरू बुझाउनु पर्नेमा प्रावधानविपरीत कम्पनीलाई कर, महसुल तथा अन्य शुल्कहरू छुट दिने निर्णय भएको अख्तियारको निष्कर्ष छ।
यसरी ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ हानि नोक्सानी पुर्याएको आरोप छ। सोही रकम बराबर सामूहिक बिगो उनीहरूको हकमा कायम गरिएको छ।
सोही आरोपमा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र डण्डुराज घिमिरेलाई पनि प्रतिवादी बनाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारी लगायतलाई प्रतिवादी बनाइएको छ ।































