२५ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीप्रति दीर्घकालीन योजनाको अभाव देखिन सक्ने भन्दै प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पोखरेलले सरकार परिवर्तनसँगै हेटौँडा कपडा उद्योग सञ्चालनको चर्चा हुने तर केही समयपछि फेरि बन्द हुने क्रम विगतदेखि दोहोरिँदै आएको उल्लेख गरेका छन् ।
उनका अनुसार उद्योग सञ्चालनलाई केवल राजनीतिक उपलब्धि देखाउने विषय बनाउनुको सट्टा त्यसलाई दीर्घकालसम्म टिकाइराख्ने आधार तयार गर्न आवश्यक छ । त्यसका लागि आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक दक्षता र प्रभावकारी व्यवस्थापनसहितको ठोस कार्ययोजना अपरिहार्य रहेको उनले बताएका छन् ।
पोखरेलले प्राविधिक तथा व्यावसायिक पक्ष स्पष्ट नगरी उद्योग सञ्चालनमा हतार गरिए विगतमा देखिएको असफलता पुनः दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
‘स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाविना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ,’ उनले भनेका छन् ।
उनले हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनलाई तत्कालीन राजनीतिक प्रचारको विषय नबनाई देशको दीर्घकालीन औद्योगिक रणनीतिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका छन् ।































