२५ साउन, काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा अपराह्न १ः०० बजे बस्ने बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन)विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन)विधेयक, २०८३’ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । साथै, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव पनि मन्त्री गौतमले नै पेस गर्नुहुने कार्यसूची छ ।
विधेयकहरू प्रस्तुत गर्नुअघि बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम समेत तय गरिएको छ ।
चार संसदीय समितिको बैठक पनि बस्दै
प्रतिनिधिसभा बैठकसँगै आज विभिन्न चारवटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन् । बिहान ९ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुनेछ।
बिहान १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । यस्तै, ११ः३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा छलफल हुनेछ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको बैठक सञ्चालन कार्यविधिका सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।































