काठमाडौं । जेन्जी आन्दोलनमा आगजनी तथा तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित प्रहरी प्रभाग काँडाघारीको नयाँ भवन पुनर्निर्माणपछि उद्घाटन गरिएको छ।
शनिबार प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नगरप्रमुख उपेन्द्र कार्कीले संयुक्त रूपमा ताम्रपत्र अनावरण गर्दै भवन उद्घाटन गरेका हुन्।
स्थानीय नागरिक, नगरपालिका तथा विभिन्न संघ–संस्थाको आर्थिक, भौतिक सहयोग र श्रमदानबाट भवन पुनर्निर्माण गरिएको हो। पुनर्निर्माणमा नगद १८ लाख ३३ हजार ६९८ तथा जिन्सी र निर्माण सामग्रीमा ५७ लाख ७१ हजार ९७७ रुपैयाँ खर्च भएको समितिले जनाएको छ।
उद्घाटनमा आईजीपी कार्कीले प्रहरी–नागरिक सहकार्य शान्ति सुरक्षाका लागि महत्वपूर्ण रहेको बताए। नगरप्रमुख कार्कीले नागरिकको श्रम र सहयोगबाट बनेका सुरक्षा संरचनालाई कुनै पनि बहानामा क्षति पुर्याउन नहुने धारणा राखे।
उनले नगरका वडा नं. १ देखि ९ सम्म एआई प्रविधियुक्त सीसीटीभी जडानका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै त्यसमा प्रहरीको प्राविधिक सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा भवन पुनर्निर्माणमा सहयोग गर्ने दाता तथा संघ–संस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो।

































