Skip

Hamro Sanchar

मोदीले विदेश भ्रमणमा १ वर्षमै खर्च गरे ७५ करोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २२ गते


Advertisement

२२ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०२६ को विदेश भ्रमणमा हालसम्म ७४ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ ।

भारतीय संसद्को राज्यसभामा सार्वजनिक गरिएको सरकारी विवरणअनुसार जुलाई २०२६ सम्म उनले १३ देशको भ्रमण गरेका छन् । उनले विदेशमा कुल २५ दिन बिताएका छन् । उनको भ्रमणमा प्रतिदिन औसत करिब दुई करोड ९८ लाख रुपैयाँ र प्रतिघण्टा करिब १२ लाख ४० हजार रुपैयाँ खर्च भएको देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसमा जुलाई ६ देखि ११ सम्म भएको इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्ड भ्रमण पनि समावेश रहेको बताइएको छ ।

भारतबाट विदेश जाने करिब ५० प्रतिशत यात्रुले आफ्नो व्यक्तिगत विदेश भ्रमणमा जाँदा एक लाख रुपैयाँभन्दा कम खर्च गर्ने सर्वेक्षणहरूले जनाए पनि प्रधानमन्त्री मोदीको भ्रमणको खर्चसँग यसको प्रत्यक्ष तुलना गर्न नमिल्ने सरकारको भनाइ छ ।

प्रधानमन्त्रीको विदेश भ्रमणमा सुरक्षा, प्रतिनिधिमण्डल, यातायात, आवास, कूटनीतिक कार्यक्रम र अन्य सरकारी व्यवस्थापनको खर्च पनि समावेश हुने भएकाले यसको लागत स्वाभाविक रूपमा धेरै हुने बताइएको छ ।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा प्रधानमन्त्री मोदीका केही विदेश भ्रमण सबैभन्दा महँगा थिए । फ्रान्स भ्रमणमा २५ करोड ५९ लाख रुपैयाँ, ब्राजिलमा १७ करोड ७२ लाख रुपैयाँ, अमेरिकामा १६ करोड ५४ लाख रुपैयाँ, साउदी अरेबियामा १५ करोड ५४ लाख रुपैयाँ, चीनमा १० करोड ५९ लाख रुपैयाँ र बेलायतमा ९ करोड ९१ लाख रुपैयाँ खर्च भएको थियो ।

यो विवरण भारतको राज्यसभा सांसद सञ्जय सिंह र भी। शिवदासनले प्रधानमन्त्रीका विदेश भ्रमण, त्यसमा भएको खर्च, भएका सम्झौता र लगानीबारे सोधेको प्रश्नको लिखित जवाफमा सार्वजनिक गरिएको हो ।

हालै भारतको परराष्ट्र राज्यमन्त्री पवित्र मार्गेरिटाले ३५ पृष्ठ लामो जवाफमा अघिल्ला सरकारका विदेश भ्रमण खर्चको विवरण पनि दिएका छन् ।

उनले भारतका प्रधानमन्त्रीले सन् २०११ मा अमेरिकाको भ्रमणमा १० करोड ७४ लाख रुपैयाँ, फ्रान्स भ्रमणमा आठ करोड ३३ लाख रुपैयाँ, सन् २०१३ मा रुस भ्रमणमा नौ करोड ९५ लाख रुपैयाँ र जर्मनी भ्रमणमा ६ करोड दुई लाख रुपैयाँ खर्च भएको बताइन् ।

भारत सरकारका अनुसार प्रधानमन्त्रीका विदेश भ्रमणले भारतको अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन, व्यापार, लगानी, प्रविधि, ऊर्जा, रक्षा र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेका छन् ।

भारत सरकारले दिएको जानकारीअनुसार जुलाई २०२१ देखि हालसम्म भएका विदेश भ्रमणका क्रममा ३१६ वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् ।

अप्रिल २०२१ देखि डिसेम्बर २०२५ सम्म भारतले ३८१।८ अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रयाएको पनि सरकारले जनाएको छ  ।


प्रतिकृया दिनुहोस्