Skip

Hamro Sanchar

गुण्डा नाइके ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा पाए सफाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २२ गते


Advertisement

२२ साउन, काठमाडौं । गुण्डा नाइकेका रूपमा परिचित मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।

बिहीबार न्यायाधीश अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतले यसअघि दिएको सफाइको फैसला सदर गर्दै सरकारको पुनरावेदन अस्वीकार गरेको हो। यससँगै करिब आठ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको टुंगो लागेको छ।

सरकारले विशेष अदालतको फैसला बदर गर्न माग गर्दै २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केन्द्रीय अनुसन्धान ब्युरो (


सीआईबी) को अनुसन्धानका आधारमा २०७० जेठमा चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूमाथि अवैध गतिविधिबाट सम्पत्ति आर्जन गर्ने, धम्की दिएर रकम असुल्ने तथा त्यस्तो सम्पत्तिलाई वैध देखाउन विभिन्न क्षेत्रमा लगानी गरेको आरोप लगाइएको थियो।

अभियोगपत्रमा चक्रे मिलनले करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको थियो। काठमाडौंमा ७ आना जग्गा तथा परिवारका सदस्यका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गासहित ७ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति अवैध रूपमा आर्जन गरेको विभागको आरोप थियो।

यसै मुद्दाका अर्का अभियुक्त राजीव गुरुङ ‘दीपक मनाङे’ ले भने २०७४ माघ १० गते नै विशेष अदालतबाट सफाइ पाइसकेका थिए। अन्य अभियुक्त गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरी विरुद्धको मुद्दा भने अझै विचाराधीन रहेको छ।


प्रतिकृया दिनुहोस्