Skip

Hamro Sanchar

श्रीलङ्कामा २ जना पूर्व अधिकारीलाई मृत्युदण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १६ गते


१६ साउन, कोलम्बो । श्रीलङ्काले सन् २०१९ को इस्टर सन्डेमा चर्चमा भएका शृङ्खलाबद्ध बम विस्फोट रोक्न असफल भएको आरोपमा एक पूर्वप्रहरी प्रमुख र पूर्वरक्षा सचिवलाई मृत्युदण्डको सजाय सुनाएको छ।

इस्टार सन्डेका दिन चर्च तथा अन्य स्थानलाई लक्षित गरी गरिएका समन्वित बम विस्फोटमा २७९ जनाको मृत्यु भएको थियो भने सयौँ मानिस घाइते भएका थिए।

अदालतले तत्कालीन सुरक्षा निकायका उच्च अधिकारीहरूले सम्भावित आतङ्कवादी हमलाबारे पूर्वसूचना पाउँदा पनि त्यसलाई रोक्न आवश्यक कदम नचालेको ठहर गरेको छ। सुरक्षा निकायको गम्भीर लापरबाहीका कारण ठुलो मानवीय क्षति भएको भन्दै उनीहरूलाई जिम्मेवार ठहर गरिएको हो।

सन् २०१९ को अप्रिल २१ मा श्रीलङ्काका विभिन्न चर्च तथा होटलमा आत्मघाती बम विस्फोट गराइएका थिए। इस्टर पर्व मनाउन भेला भएका सर्वसाधारणलाई लक्षित गरी गरिएका ती आक्रमण श्रीलङ्काको इतिहासकै सबैभन्दा घातक आतङ्कवादी घटनामध्ये एक बनेका थिए।

आक्रमणपछि सुरक्षा संयन्त्रले प्राप्त गरेको गुप्त सूचनालाई समयमै कार्यान्वयन नगरेको विषयमा तत्कालीन सरकार र सुरक्षा अधिकारीमाथि व्यापक आलोचना भएको थियो। घटनामा विदेशी नागरिकसहित ठुलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएपछि सुरक्षा निकायको भूमिकाबारे अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको थियो ।


प्रतिकृया दिनुहोस्