Skip

Hamro Sanchar

सुनसरी घटनाबारे सुरक्षा निकाय प्रमुखसँग प्रधानमन्त्रीको बिफ्रिङ : नागरिकको धनजनको सुरक्षामा कुनै सम्झौता नगर्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १३ गते


१३ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् ।

प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएका प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

ब्रिफिङमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहेको थियो ।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आमनागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्‍याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका दाहालको भनाइ छ ।

प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएका छन् ।


प्रतिकृया दिनुहोस्