Skip

Hamro Sanchar

प्रदीप पौडेल लेख्छन् : गेटा अस्पताललाई ३ सय बेडमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सुल्टो बाटो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १० गते


१० साउन, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई कम्तीमा ३ सय शय्याको क्षमतामा सञ्चालन गर्नु अनिवार्य रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा धारणा राख्दै उनले प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई विश्वविद्यालयमा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा यो काम सम्पन्न गर्न सकिने बताए ।

उनले भनेका छन्, हिजो म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा रहँदा गेटा अस्पताल सञ्चालन गर्न तथा एमबीबीएस पठनपाठन सुरु गर्नका लागि आर्थिक वर्ष २०८१र०८३ को बजेटमा नै स्रोत सुनिश्चितता गरेका थियौँ । त्यतिबेला पनि स्थानीयवासीको आवरणमा केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भयो । तथापि अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न हाम्रो पूर्ण तयारी थियो ।

पौडेलले हाल अनशनरत डा.गोविन्द केसीको मागमा समर्थनसमेत जनाएका छन् । उनले लेखेका छन्, हाल डा. गोविन्द केसीले अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गर्नुभएको सत्याग्रह अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढीकरणका पक्षमा छ ।

तर, पुनः विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पुर्‍याउने खेल भइरहेको देखिन्छ ।

गेटा अस्पताललाई तत्काल ३ सय बेडमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सुल्टो र व्यावहारिक बाटो हो । यसो नगरिकन न त विश्वविद्यालयको औचित्य पुष्टि हुन्छ, न त एमबीबीएसको पठनपाठन नै सुरु हुन सक्छु, पौडेलको भनाइ छ ।


प्रतिकृया दिनुहोस्