Skip

Hamro Sanchar

कच्चा तेलको मूल्य दुई महिनायताकै उच्च, कति पुग्यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ८ गते


८ साउन, काठमाडौं । मध्यपूर्वमा तीव्र रूपमा बढिरहेको सैन्य द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ ।

नेपाली समय अनुसार आज बिहान अन्तर्राष्ट्रिय मानक ब्रेन्ट मूल्य करिब ७ प्रतिशतले बढेर प्रतिब्यारेल १००.६९ डलर पुगेको छ। गत मे २२ पछि ब्रेन्ट क्रुड १०० डलरभन्दा माथि पुगेर बन्द भएको यो पहिलो पटक हो।

यसैगरी, अमेरिकी मानक वेस्ट टेक्सास इन्टरमिडिएटुको मूल्य पनि ६.१७ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ९२.९९ डलर पुगेको छ। जुन ४ पछि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य यो बिन्दुमा पुगेको पहिलो पटक हो ।

रणनीतिक रूपमा महत्त्वपूर्ण समुद्री मार्ग हर्मुजु र बाब अल-मन्देव क्षेत्रमा द्वन्द्व चर्किएपछि लगातार पाँचौँ दिन तेलको मूल्य उकालो लागेको हो ।

अमेरिका र इरानबीच सैन्य मुठभेड तीव्र बन्दै जाँदा अमेरिकी सेनाले इरानविरुद्ध सैन्य आक्रमण बढाएको छ। यसैबीच यमनका हुथी विद्रोहीहरूले रातो सागरमा साउदी अरबका तेल ट्याङ्करहरूमाथि आक्रमण गरेपछि स्थिति झनै भयावह बनेको छ ।

साउदी अरबले हर्मुजको विकल्पका रूपमा प्रयोग गर्दै आएको यो प्रमुख निर्यात मार्गमा आक्रमण भएपछि विश्वव्यापी इन्धन आपूर्ति नै ठप्प हुने त्रास बढेको छ।

 


प्रतिकृया दिनुहोस्