
५ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बालेन सरकारलाई बिजुलीको भ्याट सच्याउन आग्रह गरेका छन् ।
सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने निर्णयको स्वागत गर्दै बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)समेत सच्याउन आग्रह गरेका हुन्।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर सुरुदेखि नै अनुपयुक्त रहेको उल्लेख गरेका छन् ।
सरकारले सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था लागू नगर्ने निर्णय गर्नु सकारात्मक कदम भएको उनको भनाइ छ।
थापाले निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी क्षेत्रको सेवा विलासिता नभई बाध्यता भएको बताए।
निजी क्षेत्रलाई देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदारका रूपमा स्वीकार गर्नुपर्ने भन्दै उनले सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान नगर्ने धारणा राखेका छन्।
उनले समता शुल्क समानताको नीति नभई असमानतालाई थप बढावा दिने व्यवस्था भएको टिप्पणी गर्दै सरकारको निर्णयलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया यथाशीघ्र पूरा गर्न आग्रह गरेका छन्।






























