Skip

Hamro Sanchar

विष्णु पक्राउ पछि ओलिको चेतावनी : विपक्षी नेतामाथि लक्षित हर्कत तत्काल बन्द गरियोस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ८ गते


८ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको भन्दै घोर निन्दा र भर्त्सना गरेका छन् ।

प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले सरकारको यो कदमलाई अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको पराकाष्ठा भएको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीका अनुसार, उपाध्यक्ष पौडेल सुर्खेतमा पार्टीको सांगठनिक कार्यक्रममा सहभागी भई भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिकामा थिए। तर, सरकारले विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, उनलाई गैरकानुनी शैलीमा अपहरणको शैलीमा गिरफ्तार गरेको उनको आरोप छ।

सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सधैं सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई सस्तो ुस्टन्टु र राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको ओलिको भनाइ छ।
अध्यक्ष ओलीले यो दमनकारी कदमलाई आफूमाथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरताको रूपमा लिएका छन् ।

उनले सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको डटेर सामना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

विज्ञप्तिमा अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख रहेको आरोप लगाए ।

उनले सरकारलाई चेतावनी दिँदै विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न माग गरेका छन् ।

अन्तमा, अध्यक्ष ओलीले सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।

 


प्रतिकृया दिनुहोस्