Skip

Hamro Sanchar

रास्वपा महाधिवेशन : विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ६ गते


६ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ ।

पहिलो चरणको मतदान गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ ।

केसीका अनुसार निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ । केसीले यही असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताए ।

असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उनको भनाइ छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुने छ ।

उनले तीन हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताए । प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाइँदै छ ।

विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरुले एपमार्फत मतदान गर्ने छन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भएपनि मतदान गर्न पाउने व्यवस्था छ । प्रमुख केसीले आफूहरुले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताए ।


प्रतिकृया दिनुहोस्