
१ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको घोषणा गरेका छन् ।
उनले उक्त सम्झौतासँगै विश्व व्यापारका लागि महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजबाट शुल्करहित जहाज सञ्चालन पुनः सुरु हुने बताएका छन् ।
ट्रम्पका अनुसार सम्झौताले अमेरिका र इरानबीचका सबै सैन्य गतिविधि तत्काल अन्त्य गर्नेछ ।
उनले अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा तेल ढुवानी सामान्य अवस्थामा फर्काउने घोषणा पनि गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले सामाजिक सञ्जालमार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता भएको जानकारी दिएका थिए ।
उनका अनुसार सम्झौताले इरानसँगै लेबनानलगायतका मोर्चामा जारी द्वन्द्व अन्त्य गर्नेछ । सम्झौतामा औपचारिक हस्ताक्षर आगामी १९ जुनमा स्वीट्जरल्यान्डमा हुने बताइएको छ ।
सम्झौताको मध्यस्थतामा कतार, साउदी अरबीया र टर्कियेले महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ । कतारले पनि सम्झौताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र आर्थिक विकासलाई बल पुर्याउने विश्वास व्यक्त गरेको छ ।






























