
३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबार (जेठ २९ गते)विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक जानकारी गराएको थियो ।
“परराष्ट्रमन्त्री शिशिर खनालले चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा जेठ ३१ गतदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्रले भनेको छ ।
मन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र सहयोगलाई अगाडि बढाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ ।
खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेट गर्ने कार्यक्रम छ । उनले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनेछन् । सो सम्मेलनमा उनले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रममा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । चीन भ्रमण पूरा गरी उनी असार ३ गते काठमाडौं फर्कने कार्यक्रम छ ।






























