Skip

Hamro Sanchar

अमेरिकाले गर्‍यो इरानमाथि आक्रमण, होर्मुज जलमार्ग बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २८ गते


२८ जेठ, काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले इरानका विभिन्न स्थानमा हवाई आक्रमण गरेपछि तेहरानले रणनीतिक महत्वको होर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाले इरानको निरन्तर आक्रामक गतिविधिको प्रतिकारस्वरूप बुधबार राति सैन्य कारबाही गरेको जनाएको छ। उक्त आक्रमणपछि इरानका विभिन्न क्षेत्रमा विस्फोटका घटना भएका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग आसपास रहेका क्युसिम टापु, बन्दर अब्बास तथा सिरिक क्षेत्रमा शक्तिशाली विस्फोट सुनिएको जानकारी दिएका छन्। दक्षिणी सहर करगानमा पनि बमबारी भएको बताइएको छ, जहाँ कम्तीमा दुई जना घाइते भएको जनाइएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आईआरजीसी०ले अमेरिकाले यसअघि भएको युद्धविराम सम्झौताको पटक–पटक उल्लंघन गरेको आरोप लगाएको छ। सोही कारण देखाउँदै होर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको आईआरजीसीले जनाएको छ।

यस निर्णयसँगै तेल बोक्ने ट्यांकरदेखि व्यापारिक जहाजसम्मको आवतजावत प्रभावित हुने अनुमान गरिएको छ। विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने यो जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ।

इरानले जहाजहरूको सुरक्षाका लागि आफूले सहयोग गरिरहेको भन्ने अमेरिकी दाबीलाई पनि खण्डन गरेको छ। यसअघि होर्मुज क्षेत्रमा अमेरिकी ‘अपाचे’ हेलिकोप्टर खसालिएको घटनापछि दुवै देशबीच सैन्य गतिविधि तीव्र बनेका थिए। पछिल्लो आक्रमण र जलमार्ग बन्द गर्ने घोषणाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ।

यसैबीच राष्ट्रपति ट्रम्पले इरानविरुद्ध आवश्यक परे अझ कडा कदम चाल्न सकिने संकेत दिएका छन्। ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना नजिक पुगेको भए पनि इरानले वार्तालाई लम्ब्याउने र अमेरिका भ्रममा पार्ने प्रयास गरेको आरोप लगाएका छन्।


प्रतिकृया दिनुहोस्