Skip

Hamro Sanchar

इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २१ गते


२१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् ।

मोजतबा युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा पूर्ण रूपमा संलग्न रहेको ट्रम्पको दाबी छ ।

‘न्युयोर्क पोस्ट’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “उहाँ यस प्रक्रियाको हिस्सा हुनुहुन्छ । निश्चित रूपमा, मेरो विचारमा इरानका जनता उहाँको निकै सम्मान गर्छन् ।”

यद्यपि, इरानमा युद्ध सुरु भएयता मोजतबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन् । उनी टेलिभिजन प्रस्तोताहरूले पढेर सुनाउने लिखित सन्देशमार्फत मात्र देशलाई सम्बोधन गर्दै आएका छन् ।

अमेरिकी अधिकारीहरूले लामो समयदेखि युद्धको पहिलो दिन भएको भीषण बमबारीमा उनका पिता आयातुल्लाह अली खामेनीको मृत्यु भएपछि मोजतबा खामेनी पनि गम्भीर रूपमा घाइते भएको र हाल उपचाररत रहेको दाबी गर्दै आएका छन् ।

“मलाई ठ्याक्कै थाहा छैन, किनकि मैले अहिलेसम्म उहाँलाई भेट्ने अवसर पाएको छैन,” मोजतबा खामेनीको स्वास्थ्य अवस्थाबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “तर, यदि सञ्चारमाध्यमहरूमा आएका समाचारहरूलाई विश्वास गर्ने हो भने उहाँको शरीरका धेरै अंगहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।”

भविष्यमा खामेनीसँग भेटवार्ता हुन सक्ने सम्भावनाबारे ट्रम्पले भने, “हो, म उहाँलाई भेट्न चाहन्छु । परिस्थिति कस्तो रहन्छ भन्नेमा निर्भर गर्छ । तर, कुनै न कुनै समयमा हामी अवश्य भेट्न सक्छौँ ।”


प्रतिकृया दिनुहोस्