Skip

Hamro Sanchar

राष्ट्रपति कार्यालयबाट लुटेको हात्तीको दाह्रा  र लागुऔषध सहित ५ युवा पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २० गते


२० जेठ, काठमाडौँ। काठमाडौँ मनमैजु क्षेत्रबाट पाँचजना व्यक्ति पक्राउ परेका छन्।

वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा बिक्री गरेको आरोपमा प्रहरीले मंगलबार पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ९ का २५ वर्षीय राजीव महर्जन, सोही ठाउँका २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौँ १७‚ वसन्तपुरका २७ वर्षीय आयुष महर्जन, बैतडी डिलासैनी गाउँपालिका ३ का २४ वर्षीय पुरन बोहरा र तारकेश्वर नगरपालिका ९‚ मनमैजुका २० वर्षीय सन्तबहादुर भुजेज छन्।

उनीहरूलाई मनमैँजुबाट मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकाको साथबाट दुईवटा हात्तीको दाह्रा बरामद भएको छ। उक्त दाह्रा जेन-जी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयबाट लुटिएको प्रहरीको भनाइ छ। महर्जनको कोठाबाट प्रहरीले लागुऔषध ट्रामाडोल १५० क्याप्सुल पनि बरामद गरेको छ।

पक्राउ परेकालाई लागुऔषध, निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को कसुरमा अनुसन्धान थालिएको सूचना अधिकारी प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।


प्रतिकृया दिनुहोस्