Skip

Hamro Sanchar

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १८ गते


१८ जेठ, काठमाडौं । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गर्दै सामाजिक सञ्जाल प्रयोगमा कडा प्रतिबन्ध लागू गरेको छ ।

आजदेखि लागू भएको नयाँ कानुनअनुसार अब १६ वर्षमुनिका प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता प्रमुख सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् ।

नयाँ नियमले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्ने जिम्मेवारी तोकेको छ ।

साथै, १६ वर्षभन्दा कम उमेरका बालबालिकाले खाता खोल्न नपाउने सुनिश्चितता गर्नुपर्ने तथा पहिले नै बनेका अवैध खाताहरू पहिचान गरी हटाउनुपर्ने दायित्व पनि सम्बन्धित कम्पनीहरूकै हुने बताइएको छ ।

नियम उल्लंघन गर्ने कम्पनीहरूलाई अधिकतम १ करोड मलेसियन रिंगिटसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । मलेसिया सरकारले यो कदम बालबालिकालाई अनलाइन जोखिम, साइबर दुर्व्यवहार, मानसिक दबाब र अस्वस्थ सामाजिक सञ्जाल प्रयोगबाट जोगाउने उद्देश्यले ल्याइएको स्पष्ट पारेको छ ।

पछिल्ला वर्षहरूमा डिजिटल माध्यमबाट बालबालिकामाथि हुने जोखिम तीव्र रूपमा बढ्दै गएको निष्कर्षपछि यस्तो कडाइ आवश्यक भएको सरकारको भनाइ छ । यद्यपि, यदि बालबालिकाले विभिन्न उपाय अपनाएर उमेर छली खाता खोलेको अवस्थामा पनि अभिभावकलाई कानुनी कारबाही नगरिने व्यवस्था गरिएको छ ।

सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी र नियमनमा केन्द्रित रहने बताइएको छ ।

मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट पूर्ण रूपमा टाढा राख्ने उद्देश्यले नभई उनीहरूका लागि सुरक्षित, नियन्त्रित र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्ने प्रयास भएको जनाएको छ ।

यससँगै मलेसिया बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडा नियन्त्रण गर्ने देशहरूको सूचीमा थपिएको छ ।

यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले यस्तै प्रकारका नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायत देशहरूले पनि यस्तै नीति बनाउने प्रक्रिया अघि बढाइरहेका छन् ।


प्रतिकृया दिनुहोस्