
१२ जेठ, काठमाडौं । इरानले अमेरिकी सैन्य बेस नराख्न खाडीका देशहरूलाई चेतावनी दिएको छ ।
इरानी सर्वोच्च नेताले खाडी देशहरू अमेरिकी सैन्य बेसका लागि सुरक्षा कवचको रूपमा काम गर्न नसक्ने चेतावनी दिएका हुन् ।
इरानी सर्वोच्च नेता मोजताबा खामेनीईले मंगलबार एक्समार्फत यस्तो चेतावनी दिएका हुन् । उनको यो भनाइ मक्कामा हुने वार्षिक हजयात्राको अवसर पारेर सार्वजनिक गरिएको हो ।
खामेनीईले लेखेका छन्, “यस क्षेत्रका राष्ट्रहरूले अब अमेरिकी सैन्य बेसहरूका लागि सुरक्षा कवचको काम गर्ने छैनन् । अमेरिकाका लागि यस क्षेत्रमा बदमासी गर्न र सैन्य बेसहरू स्थापना गर्न अब कुनै पनि सुरक्षित स्थान बाँकी रहने छैन ।”
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको मुख्यालय अमेरिकाको फ्लोरिडामा छ । यस कमान्डको कतार, बहराइन, कुवेत, यूएई, साउदी अरेबिया र जोर्डनलगायत यस क्षेत्रका विभिन्न सैन्य बेसहरूमा स्थायी उपस्थिति छ ।
खामेनीले इजरायललाई अस्थिर शासन भन्दै पतनको नजिक पुगेको चेतावनी दिएका छन् । उनले आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता अलि खामेनीईले एक दशकअघि गरेको भविष्यवाणी उद्धृत गरेका छन् ।
अलि खामेनीईले उक्त भविष्यवाणीमा इजरायल २५ वर्ष अर्थात् अबको १५ वर्षभित्र अस्तित्वमा नरहने भनेका थिए ।




























