Skip

Hamro Sanchar

सम्झौताको चर्चाबीच अमेरिकाले गर्‍यो इरानको विभिन्न स्थानमा बमबारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १२ गते


१२ जेठ, वाशिङ्टन। अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ।

इरानी फौजले क्षेप्यास्त्र प्रहार गर्ने स्थलहरू र समुद्रमा सुरुङ (माइन) बिच्छाउन लागेका डुंगाहरूलाई लक्षित गरी उक्त आक्रमण गरिएको बीबीसीले जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्डले एक विज्ञप्ति जारी गर्दै यो सैन्य कारबाही विशुद्ध रूपमा आत्मरक्षाका लागि गरिएको स्पष्ट पारेको छ।

इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने सम्भावित खतराबाट जोगाउन यो कदम चालिएको दाबी समाचारमा उल्लेख गरिएको छ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी युद्धविरामका बेला अमेरिकी सेनाले संयमता अपनाउँदै आफ्ना फौजको रक्षा गरिरहेको बताएका छन्।

यो आक्रमण यस्तो संवेदनशील समयमा भएको छ, जतिबेला इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर द्वन्द्व अन्त्य गर्ने सम्झौता तत्कालै भइहाल्ने सम्भावना नरहेको टिप्पणी गरेका छन्।

न्युयोर्क टाइम्सका अनुसार प्रवक्ता हकिन्सले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा अवस्थित इरानी नौसैनिक बेस रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकैको क्षेत्रलाई लक्षित गरी अमेरिकी सेनाले यो आक्रमण गरेको हो।

यसअघि इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि बन्दर अब्बासमा ठुला विस्फोटका आवाजहरू सुनिएको र स्थानीय अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरिसकेको रिपोर्ट सार्वजनिक गरेका थिए।

यस सैन्य तनावअघि गत साताको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौताको नजिक पुगेको सङ्केत गर्नुभएको थियो। तर, त्यसको केही समयपछि नै उहाँले आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका थिए।

यस नयाँ हवाई आक्रमणले लामो समयदेखि जारी अमेरिकी र इरानी तनावलाई थप जटिल मोडमा पुर्‍याएको भू(राजनीतिक विश्लेषकहरूले बताएका छन्।


प्रतिकृया दिनुहोस्