Skip

Hamro Sanchar

अमेरिकी वार्ताकारलाई ट्रम्पले भने : इरानसँग हतारमा सम्झौता नगर्नू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ११ गते


११ जेठ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बिच आइतबार आफूले अमेरिकी वार्ताकारहररूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भनेको बताएका छन्।

वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छुु, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्।

उनले अगाडि लेखेका छन्, सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहनेछ।

गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलले सुरु गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ।

राष्ट्रपति ट्रम्पको टिप्पणी यस्तो समयमा आएको छ, जतिबेला अमेरिका र इरानबिच नयाँ युद्धविराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको छ।

इरानसँग सम्झौताको तयारी भइरहँदा वासिङटनमा रातारात द्विदलीय विरोध बढेको बताइएको छ र धेरै वर्तमान तथा पूर्व सांसद र अधिकारीहरूले सम्झौताका बुँदाहरूमा आलोचना गरिरहेका सूचना बाहिरिएको छ।

पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँग सहमति गरेको सन् २०१५ को आणविक सम्झौताको आलोचना गर्दै ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, दुवै पक्षले आफ्नो समय लिनुपर्छ र यसलाई सही बनाउनुपर्छ।

ह्वाइट हाउसले सम्झौताका पक्षहरू सार्वजनिक नगरेको भए पनि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार सरकारी टेलिभिजनमा भनेका छन्, दुई पक्ष १४ धाराहरू मिलेर बनेको एक प्रकारको सम्झौताको ढाँचा ‘समझदारी पत्र’ को अन्तिम तयारी नजिक पुगेका छन्।


प्रतिकृया दिनुहोस्