
२९ बैशाख, काठमाडौं । अमेरिका र इजरायलसँगै संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि इरानमाथि आक्रमण गरेको खुलासा भएको छ ।
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको रिपोर्टअनुसार अमेरिका र इजारयलले आक्रमण गरिरहेका बेला यूएईले पनि इरानमाथि सैन्य आक्रमण गरेको थियो ।
सोमबार सार्वजनिक उक्त रिपोर्टले इरानविरुद्धको युद्धमा अमेरिका र इजरायललाई साथ दिने अर्को देशका रूपमा यूएईको सहभागिता रहेको दाबी गरिएको छ ।
यूएई पर्सियन खाडीस्थित इरानको लावन टापुमा रहेको एक तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणमा पनि संलग्न रहेको रिपोर्टमा उल्लेख छ । उक्त आक्रमण अप्रिलको सुरुतिर भएको रिपोर्टमा उल्लेख छ ।
इरानले सो समयमा आफ्नो एक स्थानमा ‘अज्ञात शत्रु’बाट हमला भएको स्वीकार गरेको थियो । त्यसको जवाफमा इरानले यूएई र कुवेतमाथि मिसाइल तथा ड्रोन प्रहार गरेको जर्नलले उल्लेख गरेको छ ।
लावन टापुमा भएको आक्रमण नै युद्धमा यूएईको सहभागिताको एक मात्र विशिष्ट उदाहरण भएको रिपोर्टमा उल्लेख छ ।
जर्नलका अनुसार अन्य खाडी देशहरूले सक्रिय रूपमा युद्धमा सामेल हुन अस्वीकार गरेपछि वासिङ्टनले अबुधाबीको सहभागितालाई सकारात्मक रूपमा लिएको थियो ।
यूएईको विदेश मन्त्रालयले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । तर, विगतमा इरानको आक्रमणको जवाफ दिने अधिकार आफूहरूसँग सुरक्षित रहेको भने बताएको थियो । पेन्टागनले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
यसअघि मार्चमा विभिन्न हिब्रु सञ्चारमाध्यमहरूले यूएईले इरानको नुन हटाउने पानी शुद्धीकरण प्लान्टमा आक्रमण गरेको भन्दै रिपोर्ट प्रकाशित गरेका थिए । ती रिपोर्ट सार्वजनिक भएपछि यूएईका अधिकारीहरूले इजरायली सञ्चारमाध्यमका रिपोर्टहरू झूटो भएको बताएका थिए ।













