Skip

Hamro Sanchar

प्रधानन्यायाधीशमा मनोजकुमार शर्माकाे नाम सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २४ गते


२४ बैशाख, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले चौथो वरियताक्रममा रहेका शर्मालाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाँललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्‌मा सिफारिस गरेको थियो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ६५ वर्षे उमेर हदका कारण अवकाश पाएपछि सर्वोच्च अदालतमा वरिष्ठ न्यायाधीशका रूपमा प्रधानले कायममुकायम सम्हाल्दै आएकी छन् ।

परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । नियुक्तिपछि शर्मा ३३औँ प्रधानन्यायाधीश बन्नेछन् ।

संवैधानिक परिषद्को बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुबी कुमारी ठाकुर सहभागी थिए ।


प्रतिकृया दिनुहोस्