
२३ बैशाख, काठमाडौं। काठमाडौंको इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाट प्रयास गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर ठिमीका विकेश राजवाहक, काठमाडौं डल्लुका अरुण भुजेल र ललितपुर महालक्ष्मीका हरिकृष्ण महर्जन छन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छुट्टाछुट्टै पक्राउ गरेको हो ।
गत १७ वैशाखमा उनीहरूले इन्द्रचोकको ज्वेलरी पसलमा पेस्तोल ताकेर लुट्ने प्रयास गरेका थिए, तर पसलकी महिलाले प्रतिकार गरेपछि भागेका थिए ।
उक्त घटना भिडियोमा कैद भई भाइरल बनेको थियो ।
यसअघि यही समूहले पुस २१ गते काठमाडौं मांसान गल्लीमा रहेको होलसेल पसलबाट सुन, नगद, मोबाइल र सीसीटीभी उपकरण लुटेको पनि खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट चाइनिज पेस्तोल, गोली, म्यागजिन, घटनामा प्रयोग भएका कपडा र स्कुटर समेत बरामद गरिएको छ ।













