Skip

Hamro Sanchar

ट्रम्पको चेतावनी ; आँधी तुफान आउँदै छ, कसैले रोक्न सक्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १७ गते


१७ बैशाख, काठमाडौं । अमेरिका र इरानको तनावबीच डोनाल्ड ट्रम्पको एउटा रहस्यमय सामाजिक सञ्जाल पोस्ट चर्चाको विषय बनेको छ ।

इरानसँगको युद्धविराम वार्ता असफल भएसँगै ट्रम्पले ‘ट्रुथ सोसल’मा गरेको पोस्टले सम्भावित सैन्य हलचलको संकेत दिएको छ ।

‘गेम अफ थ्रोन्स’ शृंखलाको चर्चित संवाद ‘विन्टर इज कमिङ’बाट प्रभावितजस्तो देखिने गरी ट्रम्पले एउटा एआई–निर्मित तस्बिर साझा गरेका छन्, जसमा लेखिएको छ, “आँधी आउँदै छ । जे आउँदै छ, त्यसलाई कसैले रोक्न सक्दैन ।”

अमेरिकी मिडिया आउटलेट ‘एक्जिओस’का अनुसार अमेरिकी सेन्ट्रल कमान्ड ९सेन्टकम०का प्रमुख ब्राड कुपरले बिहीबार राष्ट्रपति ट्रम्पलाई इरानविरुद्धका सम्भावित सैन्य विकल्पबारे ब्रिफिङ दिने कार्यक्रम छ ।

रिपोर्टका अनुसार सेन्टकमले इरानका प्रमुख पूर्वाधारहरूलाई लक्षित गरी छोटो तर शक्तिशाली हवाई आक्रमणको योजना तयार पारेको छ ।

ट्रम्पले इरानको युद्ध अन्त्य गर्ने, होर्मुज जलमार्ग खोल्ने तर आणविक वार्तालाई पछि सार्ने प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

‘वाल स्ट्रिट जर्नल’का अनुसार उनले आफ्ना राष्ट्रिय सुरक्षा अधिकारीहरूलाई इरानी बन्दरगाहहरूमा लामो समयसम्म नाकाबन्दी जारी राख्न निर्देशन दिएका छन् ।

इरानलाई आफ्नो आणविक कार्यक्रमबारे सम्झौता गर्न दबाब दिन यस्तो निर्देशन दिएको बताइएको छ ।

ट्रम्पले ‘आर्थिक नाकाबन्दी’लाई सैन्य बमबारीभन्दा बढी प्रभावकारी मान्दै आएका छन् । तर, वार्तामा देखिएको गतिरोधका कारण अब सैन्य कारबाहीको विकल्प पनि छलफलमा रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्