
१० बैशाख, काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग वार्ता गर्ने कुरा स्वागतयोग्य रहेको तर धम्कीले यसमा बाधा पुर्याइरहेको बताएका छन्।
पाकिस्तानमा अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता हुने चर्चा चलिरहेका बेला इरानी राष्ट्रपतिको प्रतिक्रिया आएको हो।
राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानले वार्ता र सम्झौताको स्वागत गर्छ र आगामी दिनमा पनि गरिरहनेछ। वाचा तोड्नु, नाकाबन्दी र धम्की वार्ताका लागि प्रमुख बाधा हुन्।’
उनले अगाडि लेखेका छन्, ‘विश्वले तपाईंको (अमेरिकाको) कहिल्यै अन्त्य नहुने दोहोरो बोली, दाबी र कामबिच भिन्नता देखिरहेको छ।’
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने शुक्रबारसम्म इरानसँग पाकिस्तानमा दोस्रो चरणको वार्ता सुरु हुने सम्भावना रहेको बताएका छन्।












