Skip

Hamro Sanchar

पाकिस्तानी रक्षामन्त्री दाबी : अमेरिका-इरान वार्ताको अर्को चरण छिट्टै सुरु हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १ गते


१ बैशाख, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इरान-अमेरिका वार्ताको अर्को चरण छिट्टै सुरु हुने अपेक्षा गरिएको बताएका छन् । इस्लामावाद वार्ता विफल भएको एक दिनपछि उनको यो भनाइ आएको हो ।

अमेरिका र इरानबीच शनिबार २१ घण्टा लामो कुराकानी भएको थियो । सन् १९७९ पछि दुवै पक्षका शीर्ष अधिकारीहरू सहभागी भएको यो आफ्नो किसिमको पहिलो वार्ता थियो । यद्यपि, पाकिस्तानमा भएको सो वार्तामा दुवै पक्ष युद्ध अन्त्यका लागि कुनै स्थायी शान्ति सम्झौतामा पुग्न सकेनन् ।

संसद्बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै ख्वाजा आसिफले अहिलेसम्म कुनै पनि प्रकारको नकारात्मक घटनाक्रम नभएकाले वार्तापछि सन्तोषजनक वातावरण रहेको बताए । उनले भने, “अहिलेसम्म केवल सकारात्मक प्रगति देखिएको छ, जसले जारी कूटनीतिक प्रयासहरू सही दिशामा अघि बढिरहेको संकेत गर्छ ।”

उनले अगाडि भने, “इरान(अमेरिका वार्ताको अर्को चरण छिट्टै हुने सम्भावना छ ।” पाकिस्तानको ‘एक्सप्रेस ट्रिब्यून’ अखबारका अनुसार, क्षेत्रको भविष्य निर्धारण गर्न पाकिस्तानले निर्णायक भूमिका खेल्छ कि भनेर सोधिएको प्रश्नमा उनले भने, “अन्तिम निर्णय अल्लाहको हातमा छ ।”

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी पक्षले वासिङ्टनका सर्तहरू स्वीकार नगरेको बताएका थिए । उनका अनुसार, अमेरिकाले आफ्नो अन्तिम र सर्वश्रेष्ठ प्रस्ताव पेस गरेको थियो । भान्सले इस्लामावाद वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका थिए ।

वार्ता विफल भएको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरान आफ्नो परमाणु महत्त्वाकांक्षा त्याग्न तयार नभएकाले इरानसँगको कुराकानी असफल भएको बताएका थिए ।

अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि युद्धको सुरुआत फेब्रुअरी २८ मा भएको थियो । त्यसपछि विश्वव्यापी ऊर्जा बजार ठप्प हुन पुग्यो र व्यापार नराम्ररी प्रभावित भएको थियो ।


प्रतिकृया दिनुहोस्