Skip

Hamro Sanchar

रास्वपासंग रिसाए ज्ञानेन्द्र शाहीको आक्रोश : नयाँ र पुरानाका नाभि एउटै रहेछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २७ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले उपसभामुख पदमा आफ्नो पार्टीको उमेदवारीले राजनीतिमा कित्ता ‘क्लियर’ भएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले ‘उपसभामुखमा सरस्वती लामालाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै पुराना दल र नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकै ठाउँमा उभिएको आरोप लगाए ।

बिहीबार (चैत २६) बिहान उपसभामुखको साझा उमेदवार चयनसम्बन्धी छलफलमा अरू विपक्षी दलले राप्रपालाई ‘बाइपास’ गरेको उनले बताए । रास्वपाका सभापति रवि लामिछानेबाटै आश्वासन पाएपछि राप्रपाले उपसभामुखमा उमेदवारी दिएको उनले उल्लेख गरे । तर, पछि रास्वपाले धोका दिएको भन्दै उनले आक्रोश पोखे ।

“हाम्रो उमेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । पुराना राजनीतिक दल र नयाँ राजनीतिक दलका साइनबोर्ड फरक–फरक भए पनि उनीहरूबीचको नीतिगत सिद्धान्त र विचारको नाभि एउटै ठाउँमा जोडिएको प्रस्ट भएको छ,” उनले भने ।

उनले संसद्को संख्या सत्ता टिकाइराख्न मात्र काम लाग्ने बताए । “संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ । संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भइराख्न काम लाग्छ,” उनले भने ।


प्रतिकृया दिनुहोस्