
१७ चैत, काठमाडौं । इरानले हर्मुजमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने भएको छ।
सोमबार इरानको संसदीय समितिले हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट टोल शुल्क असुल गर्ने योजना स्वीकृत गरेको हो।
यो योजनालाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) निकट फार्स न्युज एजेन्सीका अनुसार राष्ट्रिय सुरक्षा आयोगका एक सदस्यले उक्त प्रस्ताव अनुमोदन भएको पुष्टि गरेका छन्।
प्रस्तावअनुसार अमेरिकी र इसराइली जहाजहरूलाई सो जलमार्ग प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइनेछ। सँगै इरानमाथि प्रतिबन्ध लगाउने अन्य देशका जहाजहरूलाई पनि आवतजावतमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ।
एएफपीका अनुसार हर्मुजमा टोल प्रणालीबारे इरानी सरकारी टेलिभिजनमार्फत जानकारी दिइएको छ। इरान र ओमानको बीचमा पर्ने भएकाले यो नीति कार्यान्वयनका लागि इरानले ओमानसँग मिलेर काम गर्ने बताइएको छ।
हर्मुजबाट विश्वको २० प्रतिशतभन्दा बढी कच्चा तेल पैठारी हुन्छ।
तर फेब्रुअरी २८ मा अमेरिका र इसराइलले संयुक्त रूपमा हमला गरेपछि इरानले यो जलमार्ग बन्द गरेको छ। संवादपश्चात केही इरानले केही देशका जहाजहरू छाड्दै आइरहेको छ।
युद्धयता यो जलमार्ग जहाजको आवतजावत ९५ प्रतिशतले घटेको समुद्री विश्लेषण कम्पनी केप्लरले जनाएको छ।
विश्लेषकहरूका अनुसार इरानको यस्तो निर्णयले अन्तर्राष्ट्रिय व्यापार, विशेष गरी ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पार्न सक्नेछ भने मध्यपूर्व क्षेत्रमा तनाव अझै बढ्ने संकेत देखिएको छ।
ल्अभिि
अमेरिकाले भने हर्मुजमा इरानले नियन्त्रण कायम राखेपछि इरानको मुख्य तेल टर्मिनल रहेको खर्ग टापु नै कब्जा गर्ने तयारी गरेको आकलन छ।
त्यसका लाग अमेरिकाले ठूलो संख्यामा सैनिकहरू मध्यपूर्वका आफ्ना अड्डाहरूमा तैनाथ गरेको छ। नियमित अवस्थामा मध्यपूर्वमा ४० हजार अमेरिकी सेना रहँदै आएकामा पछिल्लो दिनयता थप १० हजार भन्दा बढी अमेरिकी सेना मध्यपूर्व पुगिसकेका छन्।
यसले अमेरिकाले इरानमा स्थल आक्रमण गर्न सक्ने खतरा पनि बढेको छ।
पाकिस्तान इजिप्ट लगायतका देशहरूले युद्धविरामका लागि प्रयत्न गरिरहेका भए पनि त्यो सफल हुन सकेको छैन।
अघिल्लो साता पाकिस्तानी अधिकारीमार्फत अमेरिकाले पठाएका युद्धविराम प्रस्ताव इरानले अस्वीकार गरिदिएको थियो ।












