
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई वार्ताका लागि चाँडै गम्भीर हुन चेतावनी दिएका छन् । साथै, उनले युद्धमा सहभागी नभएको भन्दै पुनः एकपटक नेटो सहयोगी राष्ट्रहरूको कडा आलोचना गरेका छन् ।
इरानी अधिकारीहरूले अस्वीकार गरिरहे तापनि ट्रम्पले बारम्बार इरानले युद्ध अन्त्यका लागि अमेरिकासँग कुराकानी गरिरहेको दाबी गरिरहेका छन् ।
इरान सम्झौताका लागि आतुर रहेको दाबी गर्दै मार्च २६ मा एक सामाजिक सञ्जाल पोस्टमा उनले लेखेका छन् । “इरानी वार्ताकारहरू निकै फरक र अनौठा छन् । उनीहरू हामीसँग सम्झौताका लागि भिख मागिरहेका छन्, जुन उनीहरूले गर्नैपर्छ किनभने सैन्य रूपमा उनीहरू युद्धकाट समाप्त भइसकेका छन् । उनीहरूको पुनरागमनको सम्भावना शून्य छ, तैपनि सार्वजनिक रूपमा उनीहरू ‘हामी प्रस्ताव हेर्दैछौँ’ भनिरहेका छन् ।”
ट्रम्पले अगाडि लेखेका छन्, “इरानका लागि धेरै ढिलो हुनुअघि नै चाँडो गम्भीर हुनु राम्रो हुनेछ । किनकि यदि त्यसो भयो भने, फर्कने कुनै बाटो रहनेछैन र त्यो सुखद पनि हुनेछैन ।”
गत हप्ता नेटो सहयोगीहरूलाई कायर भनेका ट्रम्पले आफ्नो पछिल्लो पोस्टमा फेरि उनीहरूलाई निशाना बनाएका छन्। उनले लेखेका छन्, त्यो इरानको मामिलामा मद्दतका लागि नाटो देशहरूले केही पनि गरेका छैनन् । अमेरिकालाई नेटोबाट केही पनि चाहिएको छैन, तर यो महत्त्वपूर्ण समयलाई कहिल्यै नबिर्सनु ।













