Skip

Hamro Sanchar

अफगानिस्तानको अस्पतालमा हवाई हमला, ४ सय जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ३ गते


काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध दुर्व्यसन उपचार केन्द्रमा भएको हवाई आक्रमणमा कम्तीमा ४ सय जनाको मृत्यु हुनुका साथै २ सय ५० जना घाइते भएको अफगानिस्तान सरकारले जनाएको छ । तालिबान सरकारले उक्त आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको छ ।

अफगानिस्तान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतले स्थानीय समयअनुसार सोमबार राति करिब ९ बजे ओमिद लागुऔषध दुर्व्यसन उपचार अस्पतालुमा हवाई आक्रमण गरिएको बताए । आक्रमणपछि अस्पतालका धेरै भाग पूर्ण रूपमा ध्वस्त भएका छन् । उद्धार टोलीहरू अहिले पनि आगो नियन्त्रण गर्ने र भग्नावशेषबाट शव निकाल्ने काममा जुटिरहेका छन् ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्र उल्लंघन गरी नागरिक उपचार केन्द्रलाई लक्षित गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यसलाई मानवताविरुद्धको अपराध भएको बताएका छन् ।

तर पाकिस्तानले अस्पताललाई लक्षित गरेर आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । पाकिस्तानको सूचना मन्त्रालयले आफ्नो सेनाले सैन्य संरचना र आतंकवादी सहयोग केन्द्रु मा मात्र आक्रमण गरेको दाबी गरेको छ ।

यो घटना दुई देशबीच सीमाक्षेत्रमा बढ्दो तनावका बीचमा भएको हो । पछिल्ला हप्ताहरूमा पाकिस्तानले अफगानिस्तानले उग्रवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ, तर तालिबान सरकारले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

यस घटनापछि अफगानिस्तानका चर्चित क्रिकेट खेलाडी राशीद खानले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नागरिकका घर, विद्यालय वा अस्पतालजस्ता संरचनामाथि आक्रमण गर्नु युद्ध अपराध भएको बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेका छन् ।


प्रतिकृया दिनुहोस्