
काठमाडौं । इरानले बुधबार राति इराकमा अमेरिकी तेल ट्यांकर ‘सेफसी विष्णु’मा आक्रमण गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकको बसरानजिकै इरानी आत्मघाती डुंगाले अमेरिकी स्वामित्वमा रहेको मार्सल टापुको झन्डा भएको तेल ट्यांकर ‘सेफसी विष्णु’मा हमला गरेको हो।
आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको इराकस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। मृतकको नाम भने खुलाइएको छैन। जहाजमा रहेका अन्य १५ भारतीयको भने उद्धार गरिएको छ।
इराकी तटरक्षक दलले तेल ट्यांकरमा रहेका चालक दलका सबै २८ जनाको उद्धार गरेको छ। जसमा १६ जना भारतीय र १२ फिलिपिन्सका नागरिक रहेको जनाइएको छ। उनीहरूलाई सुरक्षित रूपमा बसरा बन्दरगाह पुर्याइएको छ। विस्फोटक पदार्थले भरिएको डुंगाले तेल ट्यांकरमा ठक्कर दिँदा विस्फोट भएको बताइएको छ।
पीटीआईको रिपोर्टअनुसार विश्वव्यापी रूपमा नाविकमध्ये १५ प्रतिशतभन्दा बढी भारतीय रहेको हुनाले इरानले जुनसुकै जहाजमा आक्रमण गरे पनि भारतीय नागरिकलाई हानि पुग्ने छ।














