Skip

Hamro Sanchar

हर्कका प्रतिस्पर्धी राईको चुनाव खर्च : मःम, चाउमिन र बदाम जुसमा ४० हजार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २७ गते


काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनाव प्रचारका क्रममा कुल ४० हजार ७४० रुपैयाँ खर्च गरेका छन् । उनको खर्चको मुख्य शीर्षकमा पेट्रोल, विभिन्न परिकारका चाउमिन र मःम, तथा पेय पदार्थहरू समावेश छन् । खर्च विवरणअनुसार, डा। राईले ५० लिटर तेल, १० प्लेट चिकेन चाउमिन, १२ प्लेट पोर्क झोल मःम, २० प्लेट चिकेन स्टिम मःम र ६ प्लेट पोर्क बारबिक्यूमा खर्च गरेका छन् ।

पेय पदार्थतर्फ ५ बोतल कोक, १५ बोतल ‘एक्सट्रिम’, १० बोतल बदाम जुस र १० बोतल पानीको खर्च देखाइएको छ । खाजाबाहेक, उनले सय छाक सादा खानामा १५ हजार रुपैयाँ र ५० लिटर पेट्रोलमा ८ हजार २५० रुपैयाँ खर्च भएको जानकारी दिएका छन् । ३९ वर्षीय डा.राईले यस निर्वाचनमा जम्मा १७ मत प्राप्त गरेका थिए । यसै क्षेत्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कसाम्पाङ ३५ हजार ७४१ मतसहित विजयी भएका छन् ।

डा।राईले भड्किलो प्रचारप्रसारमा खर्च नगरेको र त्यसरी बचेको रकम युवा रोजगारीमा लगाउने घोषणा गरेका छन् । आयोगमा पेस गरिएको फारमको नोटमा उनले अनावश्यक भौतिक प्रचार सामग्रीको खर्च कटौती गरी उक्त रकम युवालाई रोजगारी दिलाउन प्रयोग गर्ने उल्लेख गरेका छन् ।


प्रतिकृया दिनुहोस्